मुटु कपाँउने जाडो छल्न उसले
आन्दोलन र जुलुसले
सडकाका किनारहरुमा मिल्काएका
धेरै झण्डाहरु ओढ्यो
कहिले पार्टीको,
कहिले देशको,
त कहिले परदेशको ।
ऊ कहिले विद्रोही भयो,
कहिले खाँटी मान्छे बन्यो,
त कहिले देशद्रोही घोषित भयो ।
एउटा् नाङ्गो मान्छेको–
एउटा नाङ्गै प्रश्न छ कि सरकार !
सदियौं अघि विधवा भईसकेको देशको
आजसम्म लाल झण्डा किन ? ? ?
ऊ सँग छैन अब झण्डा पोत्न पुग्ने रातो रगत !
झण्डा बोक्नेहरुले झण्डा ओढ्नेहरुलाई
बौलाहा भनेको दिनदेखी –
ऊ झण्डा देखेर तर्सिन थाल्यो ।
आजभोली फेरि,
सर्वाङ्ग नाङ्गो आकाश ओढेर
विश्वासहीनतालाई काखी च्यापेर
सडक र गल्लीहरुमा बाँचिरहेछ
एउटा नाङ्गो मान्छे ।
वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:५३ मा प्रकाशित






























