निष्पट्ट !
निराकार !
निर्द्वन्द्व !
अनकण्टार !!
प्रकाश लिदै
प्रकाश छलेर
अँधेरो हुत्याउँदै
अँधेरामै पलेटी कसेर
जीवन्त प्रेमका पातहरू
हवामा फर्फराउँदै
मेरा सामु
मलाई नै तानेर
चुम्बकीय आकर्षणले
हरिया प्रणयका
रेसा रेसाका ओच्छ्यानबाट
मन्दमुस्कान
चियाइरहेछ जङ्गल !
एउटा
स्वतन्त्र राज्य हो यो
अझ भनौँ
विना संविधानको साम्राज्य
यसमा
न कुनै विधान
संविधान छन् लिखित
न कुनै निर्धारित शाषक छन्
न कुनै शाषित छन् दृश्यमा
नभएकामा
हुनुभित्रको मजा बोकेर
सगर्व फैलिदिएको छ
मेरो स्वतन्त्र
राज्य जङ्गल !
सिंह टल्कन्छ टलक्क
देखेर पर शावक वथान
खरखरुकी
सुकेका झिक्राको आड लिदै
निशाना ताक्छ गजबले
रगतको आहाल
शोकमग्न एउटा परिवार !
फरक यत्ति हो
यता वैधानिक
– सिंहहरू
– बाघचितुवाहरू
गाईभैँसीलाई नै
कार्पेट ओच्छ्याउन लगाएर
लात बजार्छन्
तनमनमुटुमा
उता अवैधानिक
तौरतरिकामा
लुकेर
छलिएर
यिनलाई नै
कार्पेट बनाउँछन्
अट्टहाँसका राक्षसहरू !!!
बाघको झुण्ड
उफ्रन्छ बुरुक्क
घोडा बनाएर
गाईभैँसीलाई
थारलघोरललाई
अर्को माँशपिण्डको
रातो कार्पेट बनेर
तेर्सिन्छ व्यापक
भोजपछिको
मोजको वस्ती
रगताम्य मुख !
खुशीका दाँत तिखाएर
पापी मनहरू
लमतन्न सुतेका छन्
माथिल्लो आसन
ओढेर अट्टहाँसले !
परिवार गुमेको विछोडमा
शोकमग्न शावकहरू
घोरलथारलहरू
भैँसीगाईहरू
अश्रुप्लावित नयनले
लगातार
असह्य पीडा फैलिएको छ
विना विधानको
साम्राज्य जङ्गल !
मङ्गल धुन गाएर
माथि रुखका डालीमा
तल मैदान
र ढिस्काका आलीमा
गायन नायकनायिका
कोयलीहरू
नृत्याङ्गना
कालिज
मयूर
र डाँफे गन्दर्भगन्दर्भी
रङ्गीन सिनेमा खेल्दैछन्
विना विधान
संविधानको
साम्राज्य जङ्गलमा !
फरक यत्ति हो
यता वैधानिक
– सिंहहरू
– बाघचितुवाहरू
गाईभैँसीलाई नै
कार्पेट ओच्छ्याउन लगाएर
लात बजार्छन्
तनमनमुटुमा
उता अवैधानिक
तौरतरिकामा
लुकेर
छलिएर
यिनलाई नै
कार्पेट बनाउँछन्
अट्टहाँसका राक्षसहरू !!!
कलानिधि दाहाल, कालोपुल, काठमाडौं
वि.सं.२०७८ पुस १० शनिवार ०८:२७ मा प्रकाशित






























