म अनैतिक
गर्भाधानबाट
जन्मिएको मान्छे,
कुन बीज हो एकिन
नभएको मान्छे,
आफन्त र इस्टमित्र
पनि,पराइ हुन् कि
झैँ लाग्छ, मलाई
गर्भमै स्वीकार्ने
बाबुको अनुहार हेर्छु
कतै केही मिल्दैन मसँग
उसको बीज नभए पनि
उसको छत्रछायाँमा
हुर्केको म,
उसैलाई बाबु मानेर
काखमा लुटपुटिएको
म,
उसको काँधमा चढेर
रमाएको म,
आजकल त्यो काँध
किन किन स्वार्थी
लाग्छ,
सम्पत्तिको लोभमा
मेरी आमाको गर्भ
स्वीकारे झैँ लाग्छ,
ऊ भित्री मनले
छोरो होइन
पालेको चरो मान्छ
तर पनि म
गर्भपतन हुनबाट
जोगिएकोमा, उप्रति
नतमस्तक छु,
उसको पिठ्युँ मेरो
घोडा हुन्थ्यो,
उसका औला
साहारा,
उसको छाती
ओछ्यान !
जसले मलाई
जिन्दगी दियो
पापी भ्रुणलाई
नाम दियो, थर दियो
यही नै काफी छ
उसको हजार
स्वार्थलाई म
माफ गरिदिन्छु
किनकि
उसले मलाई
संसार देखायो,
पापी भ्रुणको
हत्या हुनबाट
जोगायो,
लाखौं सलाम
मेरो झड्केलो
बाबु…!!
लाखौं सलाम ….!!!!
निरु गौतम,मोरङ
वि.सं.२०७८ फागुन ७ शनिवार ०८:५६ मा प्रकाशित






























