नमुना बन्नेहरूको भिडमा
सायद
म पनि एउटा दुनिया
लाग्न थालिरहेछ मलाई
जीवन भन्नु नै शान्तको परिचय ।
ए सपना
तिमी खुट्किला बन्नु पूर्व
जीवनीहरू पढाउनू !
म हतियार बन्ने रहरमा छैन
कतै कहीँ कसैको ।
ए पसिना
तिमी मेरो क्रान्तिका परिभाषा हौ
साहसको उज्यालो बनिरहनू !
विचलित मनको धड्कन बन्न चाहन्न ।
ए अस्तित्व
माटोका अनिष्टहरूले नछोऊन् !
उदाहरणहरूको धरोहर हुँ म
बाँच्नु छ चमकहरूकै लय भएर ।
हुँ नैसर्गिक चेतना
होइन म पटक्कै आँसुको बहना
यसैले
पृथ्वी साझा वरदान भनिरहन्छ
मेरो मस्तिष्कले ।
बिपना दुनियाको लाचार बन्न दिन्न
यसरी नै
चिच्च्याई रहन्छ मेरो मर्म
हुँ म विगतका दर्दनाक दृश्य
यसरी नै बर्बराई रहन्छ मेरो मानविय धर्म ।
समय यसैले तानाशाही भुमिका
नष्ट गर्दैछु आफै भित्र
वरदान हुँ
वरदान हौ
वरदान हुन् भन्ने यथार्थ बाँढ्न ।
प्रदिप रत्न शाक्य, बौद्ध, काठमाडौं
वि.सं.२०७८ फागुन ७ शनिवार ०९:०० मा प्रकाशित






























