सानु शर्मा, बाफल, काठमाडौं
१
सानो हुन्छन् दुई आँखा दुनियाँलाई चिनाउँछ
उस्तै सानो जिब्रो हुन्छ खुकुरी झै छिनाउँछ
राम्रो कर्म गर्नेलाई समाजमा चिन्छन् सबैले
कुकर्मको बाटोमा हिड्दा जगतले घिनाउँछ ।
२
दीनदुखी सहायको सेवाले पुण्य दिलाउँछ
घायल मुटुले च्यात्तिएकै मन तन सिलाउँछ
ढिलोचाँडो भन्नू मात्र हो आउँछ अबस्य मृत्यु
हजुर हाम्रो भौतिक शरीर माटोमा बिलाउँछ ।
३
तिमी हामी जन्मिएको माटो एउटै हो
हुर्केर खेलेर खाएको ढिडो आटो एउटै हो
दुई दिने पाहुना हौ यस धर्तिका हामी
ठूलो नहुनूहोस् मरिजाने बाटो एउटै हो ।
४
सत्यम् शिवम् सुन्दरम् भवन्तीः बोलम् हजुर
मनमा कालो मैलो भए जत्ती सबै पोलम् हजुर
साथी त्यसलाई मानम जस्ले साथ दिन्छ दुःखमा
बरु के कुरा लुकेका छन् मन भित्र खोलम् हजुर ।
५
अरुको नराम्रो सोंच्नु बैमानीले गर्ने कर्म हो
अर्काको भलो चिताउनु सबैको नैतिक धर्म हो
थाहा छ हामीलाई सबैको मन एकैनास हुन्न
कसैलाई होच्याउन आफैले मान्नुपर्ने शर्म हो ।
वि.सं.२०८० असार ९ शनिवार ०७:४० मा प्रकाशित






























