सुमित्रा ’अविरल’ थामी, दार्जीलिङ्ग
कुपोषणको थैलो बोकेर
अचेत संकुचित मस्तिष्क
आलिशान महलहरूको बिच
कोत्रे सडकबाट कुदिरहेको थियो
बैज्ञानिक बुद्धिहरूको
पाम प्लेटहरूमा
बिकाशको पुत्ला सजाएर
हतार …हतार…कुदिरहेको थियो
मानौ …म्यारथनको स्वर्ण पदक हत्याउन आतुर
छ ती यात्रीलाई
अनि…
केहि टाढा जंगलहरू छोड्दै
फेरि रातहरूमा बिजुली बत्तीको झिलमिलसंग
एउटा सानो गाउँभित्र प्रवेश हुन्छ उसको
अनि ..!
आँखामा सजाउन थाल्छ
कृतिम संसार
फेरि केहि बेर निन्द्राको शहरमा
सपनीसंग गफ आलापिएपछि
घ्याँच्च यथार्थमा
केहि क्षण रोकिएपछि
फेरि यात्रा शुरू हुन्छ उसको
दृश्यहरूपनि बद्लिन थाल्छ
खेतका गराहरूमा लहलह धानको बालाहरू
अनि ती खेतबारीको चारकुनामा
कंक्रिटले बनाएका चार खाँबोहरू
तर अचम्भ …?
त्यहाँ अहिलेका प्रगतिसंग
त्यो छिपछिपे हिलोमा धानसंगै हुर्किदै थियो
निस्सासिएको
भोको नाङ्गो छातीका करङ्गहरू गन्न सक्ने
भोकमरी भविष्यहरू
कुपोषण अन्नको होइन
मानसिकता बोकेर
त्यहि पाम प्लेटहरू छातीमा टाँसेर
देशको विकास
अनि हुर्किदै थियो सृष्टिको चुनौतीहरू
अनि अन्जान यात्री
त्यहि संकुचित मस्तिष्क बोकेर
हिँडीरहेको थियो
हिँडीरहेको थियो
देश बिकासको कुराहरू
जातिय बिकासको सपनाहरू अनि मानवताको
नारा लगाउँदै
नारा लगाउँदै ।
वि.सं.२०८० असार ९ शनिवार ०७:४२ मा प्रकाशित






























