गजेन्द्र मोक्तान, पाँचथर
मेचीका आँखाले
महाकाली हेर्दै छु
कालीका पाइलाले
नाम्चे,सल्लेरीबाट
तिल्पुङ् हिँड्दै छु
चिसो निकै छ
पहाडमा
बरफ पन्साएर
तराई ओर्ल शिशिरहरू
तातो निकै छ
मेरो मिथिलासँग
ग्रीष्मर्तु पसिना छोपेर
हिमाल उठ
चेतनदीप
नानीअनुहार फेरिनु पर्छ
गैंती उचालेर होस्
वा हलोजुवा बोकेर
मैले
मेरो तराई उमारेर
हिमाल सिँच्नु पर्छ
मैले मेरा स्वयम्भू
आँखा उघारेर
मुगु मुस्ताङ्को
हिउँ पग्लनु पर्छ
आफ्नै अस्तित्वको
सगरमाथा अग्लनु पर्छ
भाइ भतिजहरू !
छातीभरि उपत्यका सजाएर
सिफलको साहससँग
विदेश होइन
देश रोप्नु छ
मेरा कलिला
सुन्दर भोलिका
हातहरूमा
ओ,स्याङ्बो !
ओ,चमेली
लहर छाड
परराष्ट्रका भिसामा
आऊ सँगसँगै
भिरपाखामा
रोपेर बीउ
राता गोलभेडा उमारौँ
फुलाएर तोरी
कन्दराका कापमा
मनभरि
मह चुहाऊँ
मैले जताबाट हिँडे पनि
देश उभिनु पर्छ
देश हेरिनु पर्छ
वर्तमान उभिएर पाउमा
भोलिका
नानीअनुहार फेरिनु पर्छ
गैंती उचालेर होस्
वा हलोजुवा बोकेर
मैले
मेरो तराई उमारेर
हिमाल सिँच्नु पर्छ
मैले मेरा स्वयम्भू
आँखा उघारेर
मुगु मुस्ताङ्को
हिउँ पग्लनु पर्छ
आफ्नै अस्तित्वको
सगरमाथा अग्लनु पर्छ
भाइ भतिजहरू !
पाइला मोडेर फर्क
विदेशबाट
देशमै अस्तित्वका
छातीहरू
सर्वत्र फैलिनु पर्छ !!
वि.सं.२०८० असार ९ शनिवार ०७:४४ मा प्रकाशित






























