मञ्जुला तामाङ्ग सुब्बाघुम, दार्जीलिङ्
महाकाल धाम :
मन छैन अब बस्न यहाँ
बहन थाल्यो दूषित हावा
चड्दैन जल पनि पवित्र
कसमधारी भीडभाड लाग्छन दिनभरी
चिन्दिन को हुन भक्त असली ।
हावाः
नथोपार दोष म माथि
दूषित छन् पर्यावरण त्यै माथि
न हिमाल गर्छ कसैको विरोध
मस्त छ टिष्टा दगुर्न मधेस
बहन्छ अन्जान तप्त ज्वालाहरू
सीमित छु स्वच्छ हावा बनि बहनु ।
रोग निवारण क्षमता रहेन
प्रदूषित हावामा मेरो आफ्नै अस्तित्व रहेन ।
महाकाल ! तिम्रो आशिष बर्सिरहोस्
टिष्टा ! तिमी शान्त अविरल बगिरहनु
हावा ! तिमी मन्द मन्द विशुद्ध चलिरहनु
चियाबारी ! तिमी आफैमा गर्व गर्नु ।
सहानुभूति छ मेरो, पर्यावरण सन्तुलित बनाइ राखौ ।
नयाँ पिडी बचाउने सुन्दर पहाड साँची राखौ ।
टिष्टा,
हो ! म मस्त छु दगुर्न मधेसतिर
सन्तुष्ट छु फैलावटमा आफ्नो शान्तिसित
उत्पति मेरी हाँस्छिन् हेर्दै मतिर
लाचार छु म, आफ्नै देखेर सन्तति
पहाड, कन्दरा, झरना, घुम्ती
म खेल्दै आउँछु ।
सन्तान मेरी हुँदैछन् भ्रष्ट
अलकनन्दा बनि प्रलय मच्चाउ कि …
पहाड सोहोरेर समतल पुर्याउँ कि ?
यसैले अशान्त छु खोज्दै शान्ती अविरल बहदैं छु ।
चियाबारीः
अजम्बरी कदापि नसोच मलाई
हरियाली रूप मेरी जीवन मृत्युको
संघारमा छु
बिरक्तिएर आत्महत्याको तारतम्य मिलाउँदैछु ।
आफ्ना सबै विलिन हुन लागे
चिमोटी चिमोटी बिश्वबजारमा लिलाम पछि
अफालिएको वेश्या हुन लागेँ ।
हिमाल :
सबै दोष्याउँछन् मलाई
महाकाल , हावा, टिस्टा, चियाबारी
बिलौना सुनाउँछन् मलाई ।
अक्षुण्ण कहाँ छु म यी पीडाहरूबाट
गर्छन् तुलना मलाई टोपी शिरको
राख्दैनन् मान सम्मान आफ्नै स्थानको
अडिग छु, अटल छु, जीवित छु
सुन्दर पहाडको एकमात्र पवित्र प्रतिक हुँ ।
महाकाल ! तिम्रो आशिष बर्सिरहोस्
टिष्टा ! तिमी शान्त अविरल बगिरहनु
हावा ! तिमी मन्द मन्द विशुद्ध चलिरहनु
चियाबारी ! तिमी आफैमा गर्व गर्नु ।
सहानुभूति छ मेरो, पर्यावरण सन्तुलित बनाइ राखौ ।
नयाँ पिडी बचाउने सुन्दर पहाड साँची राखौ ।
वि.सं.२०८० असार ९ शनिवार ०७:४६ मा प्रकाशित






























