न्युयोर्क, अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु जातिको नयाँ वर्ष येले तङ्बे अर्थात अथवा लिम्बु सम्वत ५०८३ सालको उपलक्ष्यमा सिसेक्पा तङ्नाम मनाएको छ ।
नेपाली वाणिज्यदूतको कार्यालय अमेरिकाका वाणिज्यदूत गणेश प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा ९ जुलाईमा सम्पन्न उक्त कार्यक्रम क्वींसब्रिज पार्क लङ आइलैंड सिटी, न्युयोर्कमा आयोजना गरिएको थियो ।
लिम्बु जातिको महान चाडमध्ये एक मानिने यस पर्वलाई लिम्बु रिती रिवाज अनुसार सहकाल बोलाउने, अनिकाल धपाउने तिथिको रूपमा हेरिन्छ । कार्यक्रममा अतिथिहरुलाई तोङ्बा प्रदान गरेर स्वागत गरिएको थियो ।

कार्यक्रममा लिम्बु रीतिरिवाज, कला, धर्म, संस्कृतिसंग संम्बन्धीत नृत्य, प्रदर्शनी तथा खेलहरु देख्न सकिन्थ्यो । नृत्यतर्फ केलाङ –च्याब्रुङ) नाच र यालाङ (धान नाच) प्रस्तुत गरिएको थियो । पहिलोपटक लिम्बु बालबालिकाले च्याब्रङ नाच पनि प्रदर्शन गरेका थिए ।
लिम्बु संस्कार संस्कृति झल्किने फोटो, गरगहना तथा भेषभुषा समेतको प्रदर्शनी रहेको उक्त कार्यक्रममा लिम्बु संस्कार संस्कृति जगेर्नामा अमूल्य सहयोग गर्ने किरात याक्थुङ चुम्लुङ अमेरिकाका अग्रजहरुलाई र याक्थुङ समुदाय अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो ।
अध्यक्ष दिपक थेबेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम र खेलकुद पनि समावेश गरिएको थियो । यसै अवसरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको अफिसियल वेबसाइटको पनि उदघाटन गरिएको थियो ।
वि.सं.२०८० साउन ३ बुधवार १६:३० मा प्रकाशित






























