मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं
‘तेरा मालिक मालिकनी दुवैलाई एकपटक भेट्न खोजेको छु, खबर गरिदे है बाबु ! भनेर बुबाले भनि पठाउनु भएको छ । भन्दै थियो ड्राइभरले आएर ! एकपटक जाऊँ न त !’, ममताले पति सुशीलसंग भनिन् ।
‘किन हो, सोधिनौ ?’, उसले प्रतिप्रश्न ग¥यो ।
‘उहाँ बिरामी पनि हुनुहुन्छ रे ! जाओैं न, थाहा भईहाल्छ नि !’, पत्नीको जवाफ आयो ।
सुशीलले पत्नीको मुख पुलुक्क हे¥यो । नयाँ ग्यारेज बनाएपछि कम्पाउण्डभित्रको कुनामा प्रयोजनविहीन रहेको पुरानो ग्यारेजमा दश बर्ष अघि आमाबुुबाको अनिच्छाको बाबजुद उहाँहरुलाई बेग्लै रााखिदिएको थियोे उसले । त्यसपछिका दिनमा बुबाले यसरी बोलाएको यो नै पहिलोपटक थियोे ।
दुबै जना सिकिस्त अवस्थामा रहेका बुबालाई भेट्न पुगे । सुतिरहेका बुबालाई बोलाए । बिस्तारै आँखा उघार्दै बुबाले खाटको छेउ देखाएर बस्ने इसारा गर्नुभयो ।
सुशीलले सोध्यो , ‘बुबाले बोलाउनु भएको रहेछ !’
‘हो बाबु, केही भन्नु थियो त्यसैले बोलाएको मैले । यो टहरामा पानी चुहिन्छ । तेरी आमा बाँचुन्जेल रातभर नसुती नसुती चुहिएको पानी थाप्थी, त्यसैले छानाको जस्ता फेर्नु । जाडोमा चिसो हावाले बस्नै गाह्रो पर्छ, तेरी आमा पछ्यौराको पर्दा हालेर हावा रोक्ने असफल प्रयास गर्थी, यो झ्यालमा शिशा हाल्नु । स्टोभ नबलेर कति छाक हामी भोकै बसेका छौं, यहाँ एउटा ग्याँस चुलोको ब्यवस्था गर्नु । अँ, गर्मीमा झन् समस्या हुन्छ एउटा पंखा पनि हाल्न नबिर्सनु ।’ , बुबाले एकै सासमा भन्नुभयो ।
छोराले छक्क पर्दै सोध्यो, ‘तपाईं यति लामो समयदेखि यहाँ हुनुहुन्छ, कहिल्यै केही गुनासो गर्नु भएन । तर, अहिले आफ्नो अन्तिम अवस्थामा आएर मलाई यो सबै किन भनिरहनु भएको छ बुबा ?’
बुबाले जवाफ दिनुभयो, ‘कुरा यो हो कि छोरा, हामीले जाडो, गर्मी, भोक, पीडा सबै भोगेका–सहेका थियौं र सहन सक्यौं । तर, मलाई डर लाग्छ जब तिमीहरूलाई छोराले यहाँ पठाउला तब तिमीहरु यो सब सहन गर्न सक्ने छैनौ ! किनकि यी कुराहरु तिमीहरूले कहिल्यै भोगेका छैनौ !!
वि.सं.२०८० माघ २७ शनिवार ०७:२१ मा प्रकाशित






























