इन्दिरा चापागाईं, सूर्यविनायक, भक्तपुर
भर्खर जन्मेको बच्चा च्यापेर मुसुक्क हाँस्दै उसकी बुढी टुप्लुक्क दैलोमा आइपुगी ।
आफ्नी बुढीले डाक्टरसँग खुसामती गरेको उसले धेरैपटक देखेको थियो । त्यसैले अहिले उसले च्यापेको सन्तानलाई हेर्न पनि सकेन । ऊ सन्तान जन्माउँन असक्षम भएको रिपोर्ट आएपछि समाजले बुढीलाई बाँझी उपनाम दिएको थियो । त्यसपछि दम्पतीबिच दुरी बढेको थियो ।
‘कसको सन्तान लिएर आइस् ?’, रिसले चूर हुँदै पतिले भन्यो ।
‘होइन कुन जमाना छौ हो तिमी ? हाम्रै हो शंका नगर न बुढा, बरु सन्तान पाइयो भनेर खुसी होऊ ।’, पत्नीले उज्यालो अनुहार पार्दै भनी ।
‘कसरी हाम्रो हुन्छ ? कसको हो त्यहीसँग जा । यहाँ भित्र पस्न पाउँदिनस् ।’, उसको रिसको पारो सगरमाथा पुग्यो ।
‘नेपालमा पहिलो पटक निःशुल्क परीक्षण प्रयोग गरेका हौँ । तपाईँलाई बधाई छ ।’, ऊ सँगै आएका डाक्टरले भने ।
ऊ डाक्टरमाथि जाइलाग्यो । बुढिले छेक्दै भन्छिन् , ‘मेरो शरिरको कुनै सामान्य कोष (somatic cell) को न्युक्लियस मात्र प्रयोग गरेर क्लोनिङ प्रविधिबाट जन्माइएको हो यो छोरी ।’ , बोल्दा बोल्दै ऊ झल्याँस्स व्युझिई ।
वि.सं.२०८१ साउन १२ शनिवार ०८:२६ मा प्रकाशित





























