बाबुकाजी सुवाल ’विकेश निराशी’
भक्तपुर
एक महिनाअघि विदेशबाट फर्केको नाति सहनिलाल चारपाँच जना मान्छे जम्मा पारेर आएको देखेर खरको छाप्रोबाहिर आँगनमा राखेको मेचमा घाम तापेर बसेकी नथुनी बज्यै अचम्ममा पर्दै, सोधिन् “बाबु माइला, किन मान्छे ल्याएको ? के गर्न लाग्यौ ?”
“परको त्यो बारीको आँपका बोटहरू काट्न लागेको । अब त्यहाँ घर बनाउनु पर्छ, हजुरआमा ।”, सँगै आएका मान्छेहरूलाई बन्चरोहरू र डोरी सुम्पिँदै सहनिलालले भन्यो ।
“त्यो आँपबारी हाम्रा बाआमा समान छन् बाबू, नमास्नू त्यसलाई । हाम्रा बाजेबराजुदेखि हामी सबैलाई पालेको छ त्यसले । त्यही बारीको आँपले तिमीहरूले खायौ बढ्यौ पढ्यौ र आज पुगिसरी भयौ । अब मास्यौ भने पाप लाग्छ, बा, नमास ।”, नथुनी बज्यैले गहभरि आँसु पारे गला अवरुद्ध गर्दै भनिन् ।
“अब ती आँपका रूखहरू बुढा भइसके । फल पनि राम्रो दिँदैन, तिनको के काम, हजुरआमा ?” , सहनिलालले बज्यैलाई सम्झायो ।
“हो त नि है ? यो बूढो हड्डीको के काम ?”, नथुनी बज्यैले आँखाबाट बर्र आँसु झारिन् र बर्बराउँदै मेचबाट भुइँमा ढलिन् अनि पर्लक्क आँखा पल्टाइन् ।
वि.सं.२०८१ भदौ २२ शनिवार ०५:४१ मा प्रकाशित