पूजन मिश्र, भक्तपुर
यो धर्तीका जीवित देउता वृद्धवृद्धा दुवै,
आदरले शिर झुकाई गरौँ नमन खुबै,
इतिहासका सच्चा साक्षी अनुभवका खानी,
पाप लाग्ला होच्याउँदा आज दुर्बल ठानी ।
जवानीका बडा हाकिम आज नाजुक देख्छु,
आँसु बगाई एकोरिन्छन् तिनका गाथा लेख्छु ,
जवानीको आगो बल्दा सबै हुन्थे वर ,
दृश्य श्रवण घट्तै जाँदा आफ्ना सबै पर ।
घुमिफिरी चक्र उही सबको पालो आउँछ,
जीर्ण शरीर पिँजडामा मनले चारधाम धाउँ छ,
आज बढ्दो विकृतिले नाता टुटाउँदै छ ,
अन्तिम आशा भरोसाको साथ छुटाउँदै छ ।
युवा बच्चा सबको मनमा चेत जाग्नुपर्छ ,
अग्रज मनको सम्मानमा समाज लाग्नुपर्छ ,
समाजबाटै चेतनाको बीज रोप्न थालौँ ,
स्वार्थी मनका पापी जरा उखेलेर फालौँ ।
अग्रज जनलाई राज्यबाटै सम्मान हुनुपर्छ,
सत्कर्मले जेष्ठ मनको मर्म छुनुपर्छ,
घाउ दुख्दा अग्रणीको हामी रुनुपर्छ,
असहाय मनको मैलो सबले धुनुपर्छ ।
छन्द: सवाही
वि.सं.२०८१ भदौ २२ शनिवार ०५:४७ मा प्रकाशित