मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
‘खै पासय तयार भएन ? यता पीण्ड दिने बेला भइसक्यो ।’ आगनबाट श्रीमानको आवाज आयो ।
पितृश्राद्धमा दुबै जोईपोइलाई चटारो थियो । श्रीमानको आवाज सुनेर श्रीमतीले हतार हतार पायस पकाउन लागिन् । उनीहरूको आठ वर्षे छोरा जिज्ञासु हुँदै आमालाई सोध्यो –
‘यो के पकाको आमा’
‘यो पायस हो ।’
उसले अर्थ बुझेन । ट्वाल्ल परेको आमालाई हेरी रह्यो । यो देखेर आमाले अर्थाइन् –
‘यो खिर हो ।’
‘आहा खिर…! मलाई पनि है !’ ऊ उत्साहित भयो ।
‘यो बाबुलाई हैन हजुरबालाई हो ।’
‘हजुरबालाई …….?’ ऊ फेरि सोचमग्न भयो।
‘हो हजुरबालाई । आज हजुरबालाई पायसको पीण्ड खान दिनु पर्छ ।’
श्राद्ध उम्काउन जेनतेन गरेर, छिमेकीसँग उधारो मागेर सामल जोडेका थिए । धेरै दिनदेखि खिर खाने कुरा गरिरहेको छोरालाई यो पटक पनि खुवाउन नसकेकोमा खिन्न मान्दै पायस पकाउन आमा थालिन् ।
आज पनि खिर नपाउने भएपछि छोरोले श्राद्ध गर्दैगरेको बाको छेउमा गएर प्रश्न गर्यो –
‘बा मेरो सराद्दे कहिले गर्ने ?’
वि.सं.२०८१ असोज ५ शनिवार ०४:४८ मा प्रकाशित