बिष्णुकुमार बराइली
मिरिक, दार्जिलिङ
श्रमिक रोएर बाँच्दैछन् यहाँ पीड़ा परानीले
चियाबारी सधैँ चल्दैछ शोषण बेइमानीले
दबेका हेर वर्षौ भो श्रमिकको कष्ट हो साँचो
छ मालिक नै यहाँ शोषक नराम्रो दुष्ट बानीले
चिसो के हो खड़ेरी के सहन्छन् बाह्र महिनाको
झरी भो आज भन्दैनन् फरक पार्दैन पानीले
कमाने जिन्दगी गाह्रो खपेकाछन् सयौँ कष्ट
सधैँ हेप्छन् असाध्यै कम्पनीका धुर्त ज्ञानीले
समय बाँच्दै बनौँ एकै यहाँ छाड़ौँ झमेला सब
चियाबारी तिमी रम्छौ सुनौलो त्यो बिहानीले
बहर :हजज मुसम्मन सालिम
अर्कान : मफालुन् मफालुन् मफालुन् मफालुन्
वजन : १२२२ १२२२ १२२२ १२२२
अभ्यास : ज्ञानकुञ्ज गजल पाठशाला
शब्दार्थ : परानी – किरा
वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:३१ मा प्रकाशित






























