कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर
सन्दर्भ मिल्दछ भने अनि काव्य बन्छ ।
औचित्य छैन गतिलो तब व्यर्थ हुन्छ ।।
के काम त्यो जब पसी मनमा छुँदैन
लेखेरमात्र कविता, कविता हुँदैन ।।१
कुल्चेर भाव दिलमा गतिरोध आए ।
जो चाहिने रस उतै निमठी पठाए ।।
झर्को र झन्झट घृणा मनमा दिएमा
के काम लेख्नु कविता बिलिनो भएमा ।।२
मस्तिष्कमा विलय हुन् कविका प्रसङ्ग ।
आलस्य भाग्न बल होस् मन होस् तरङ्ग ।।
कर्तव्य बोध कविता सजिलै दिलाओस् ।
सन्देश बोक्न हितको मन चञ्चलाओस् ।।३
स्वाधीन होस् लय विधान समग्र मिल्दो ।
भावार्थ बुझ्न सकियोस् न रहोस् अमिल्दो ।।
जो शक्तिको परमभक्त बनेर हिँड्छ ।
लौरो बजाउन सकोस् कविता कहिन्छ ।।४
आदेश बन्छ कविता जब गिर्छ मान्छे ।
छोड्दैन साथ कविता जब पिर्छ मान्छे ।।
पार्नेछ भ्रष्ट खलको व्यवहार नाङ्गो ।
सोझ्याउने छ कविता जब देख्छ बाङ्गो ।।५
छन्द ः वसन्ततिलका
वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:३९ मा प्रकाशित