कनकधारा स्वामी स्वदेशानन्द
गान्तोक, सिक्किम
यी काकाकुल मात्र देखिन गए पानी कहाँ पाउलान्,
सामा धान बराबरी हुन गयो के जाउली ल्याउलान् ।
आफ्नाको अनुहार रित्तिन गयो आफन्तकै देशमा,
पस्छन् भालु बँदेल कुञ्ज गिरिमा बाली सबै मास्तछन् ।।०१।।
सीताराम वियोगमैँ बितिरहे छन् राक्षसी हर्कमा,
जोडी भैकन डुल्दछन् विपिनमा मन्दोदरी–रावण ।
वैदेही भृकुटी हिमाचलसुता ओझेलमा बस्तछन्,
थुप्रै सुर्पणखाहरू कुलबधू यो राष्ट्रका बन्दछन् ।।०२।।
यी हाम्रा सब सारथी अबुझ छन् पापा चिची खोज्दछन्,
कोल्टे हात सधैँ गरेर रथ यो ढल्काउने गर्दछन्
यो हाम्रो रथ पल्टनेछ कहिले भेटिन्छ गङ्गातिर,
गङ्गा स्नान सदैव मिल्दछ भनी हाँस्ता हुनन् पामर ।।०३।।
आई इन्द्र महेन्द्रको विपिनमा फाटो सधैँ हाल्दछ,
पूज्या मान्दछ जानकी गिरिसुता होच्याउने गर्दछ्र ।
पापा दिन्छु भनेर लालच दिँदा धेरै फसे बालक,
बोलीमा करुणा दया छ उसको भित्री महापात ।।४।।
यी काकाकुलले कुवा अब खनून् चाहिन्छ पानी भने,
आशा बादलको कदापि नगरून् बाँच्ने छ इच्छा भने ।
पानी खान सिकून् हिमालतिरको पीयूष दिव्यौषध,
बर्खाको अब आस छैन वनमा पानी कहाँ पर्दछ ।।०५।।
मैले शब्द प्रसूनको विपिनमा खेती लगाऊँ भनी,
रोपेँ बीज पहाडका सुमनको उम्रेन केही पनि ।
चाँपो फुल्न सकेन कुञ्ज वनमा मासिन्छ झैँ देखियो,
बन्सो जङ्गल झार हौसिन गयो कस्तो बगैँचा भयो ।।०६।।
छन्द : शार्दूलविक्रीडित
गण :म स ज स त त गु
गण सङ्केतः SSS llS lSl llS SSl SSl S
वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:४० मा प्रकाशित