मचिन्द्र खत्री, धरान, सुनसरी
सरसर चल हावा,शीत सर्को लिएर
थरथर गर मान्छे शीत चर्को पिएर ।
समय शिशिर आयो चिल्न लाग्यो बिहान
ढकढक हिउँ बाक्ला मिल्न लागे मुहान ।।१
कुसुम बदन नाङ्गा पात छन् यी पहेँला
कलि कलि कलिलाका डाठमा छन् झमेला ।
फरफर फर गर्दे वृक्षका पात झर्दा
हँसमुख नहुँदामा लाग्न लागे बिचारा ।।२
लुक लुक रवि राजा छोप्न आयो रमाई
किरण हरण गर्ला व्योम भित्रै समाई ।
चिर परिचय राख्ने हो कलाको सिपालु
ऋुतु शिशिर छ यस्तै यो भलाको इषालु ।।३
तर पनि वनमा छन् फूल सेता सिगारे
धुसुर फुसुर फुल्ने हूल पाखा पखेरे ।
वन सिमल फुलेका वृक्ष राता खडा छन्
बदन जडित शोभा प्रीति बाड्ने बडा छन् ।।४
वरपर पशु पक्षी भीर पाखा चरेर
कठिन कठिन गर्दै पेट आफ्ना भरेर
शिशिर सँगसँगै छन् बाँच्न जान्ने सिपालु
म त कवि कविताको शब्दमात्रै खिपालु ।।५
छन्द : मालिनी
गण : न न म य य
सङ्केत : lll lll SSS lSS lSS
वि.सं.२०८१ माघ १२ शनिवार ०५:३४ मा प्रकाशित






























