वसन्त अनुभव, वसन्तविहार, घोराही, दाङ
अदालतमा बहस चलिरहेको थियोे । मुद्दाको वादी मान्छे, प्रतिवादीहरू पानी, हावा र माटोप्रति क्रुद्ध थियो ।
न्यायाधीशले सबैलाई एकएक नियाले र पानीतर्फ हेर्दै बोले, –“के चाला हो यो ? तिमीलाई पिउँदा मान्छे झन्डै गुल्टिएनछ त ! त्यस्तो पनि गर्ने हो ?’
‘म निर्दोष छु श्रीमान् ? मेरो हालत देखिहाल्नु भो ! म आफैँ बिरामी छु । मलाई पिउँदा मान्छे कसरी स्वस्थ हुन्छ त ?’ , जलवियोजनले ग्रसित धमिलो पानी कपकपाउँदै बोल्यो ।
–‘मान्छेलाई अक्सिजन दिने जिम्मेवारी तिम्रो हैन ? अक्सिजन भनेर दुषित हावा दिने ?’, न्यायाधीशले हावालाई पनि झपारे ।
–‘मैले त निकै प्रयास गरेकै हो हजुर ! शरीरले साथ नदिएपछि के गर्नू ?’ , दम, खोकीले ग्रसित हावा स्याँ स्याँ गर्दै बोल्यो ।
–‘आश्रयमात्र दिएर हुन्छ, उचित पोषण दिनुपर्दैन ? कुपोषित मान्छेको जिम्मेवारी कस्ले लिने ?’ , माटोतिर फर्किएर न्यायाधीश कड्किए ।
–‘यो केमिकल, रसायन, विषादीले हामी नपुंसक भइसक्यौंं, श्रीमान् ! अम्लियपन बढेर टिक्नै मुस्किल भएको छ ।’ , कुपोषणले ग्रसित माटोले पनि धौधौ बिन्ती बिसायो ।
–‘हे भगवान् ! तिमीहरू सबैको हालत उस्तै छ त । हैन, तिमीहरूको यो हविगत कसले बनायो ?’ , निराश हुँदै न्यायाधीशले सोधे ।
सबैले रुञ्चे स्वरमा एकसाथ भने, –‘मान्छेले ।’
वि.सं.२०८२ भदौ ७ शनिवार ०८:१४ मा प्रकाशित






























