इन्दिरा चापागाईं,सूर्यविनायक, भक्तपुर
सांसद मुसुमुसु हाँस्दै घरभित्र पस्यो ।
सुटकेस टेबुलमा राखेर खुट्टा धुन धारातिर गयो ।
बुढीले यसो उचालिन् निकै गरुङ्गो भयो । हतपत खोलेर हेरिन् टन्न पैसा रहेछ ।
‘हिडेर अमेरिका जान्छु एककरोड चाहियो ।’ भन्दै हिँजो मात्र छोराले भात पानी छोडेको थियो ।
‘हिँडेर जाँदा एक करोड चाहिँ केलाई लाग्छ ? कहाँबाट ल्याउँनु त्यत्रो पैसा ?’ भन्दै सांसदले झपारेको थियो । अहिले यत्रो पैसा कहाँबाट ल्याए भनेर बुढी आश्चर्यमा परिन् । आत्तिएर पसिनाले खलखल भइन्। “कहाँबाट ल्यायौ यतिका पैसा ?” उनले एकै सासमा सोधिन् ।
“के आत्तिएकी ? चोरेर ठगेर ल्याएको होइन त । व्यापार गरेँ, व्यापार ।”
“होइन व्यापार गर्नलाई चाहिँ के थियो हँ तिमीसँग ?” छक्क पर्दै बुढीले सोधिन् ।
“जे भए पनि तँलाइ के खाँचो, आफूसँग जे थियो, त्यही बेचेँ भो अब । यति भए जिन्दगी बन्छ, धेर हल्ला नगर ।” उसले तात्तिँदै भन्यो ।
“ थाहा त पाउँनु पर्यो नि । भन न, किड्नी बेच्यौ कि के हो ? ।” बुढीले नम्र भएर अनुरोध गरिन् ।
“आज संसदमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने दिन थियो थाहा छ त तँलाई ?”
“थाहा छ, अनि ?”
“ आफ्नो दललाई धोका दिएर मैले एक मत बेचेँ, प्रतिपक्षी दलले किन्यो, बस् ।”
वि.सं.२०८२ मंसिर २७ शनिवार ०८:१३ मा प्रकाशित






























