
मिर्मिरे साँझमा
चलेको सुस्तरी सुस्तरी हावामा
तिम्रो मायाको सुगन्ध थियो
रानीवनमा चिरबिर चिरबिर गर्ने
चरीको आवाजमा
हाम्रै मायाको गीत थियो
यस्तो लागिरहन्छ मलाई किन हो
हिमालबाट पग्लिरहेको हिउँमा
तिम्रो अनि मेरो मायाको राप थियो
चोखो मायालाई
प्रकृतिले टाढा पार्दैन भन्ने कुरा
मलाई थाहा भएर होला सायद
पापी भेलले
तिमीलाई बगाई लाँदा पनि
समुद्रको सतहमा
तिमीलाई खोज्न छाडिन मैँले
दक्षिणको हुरीले
तिमीलाई बडारेर ल्याउँदा
तिम्रो हात समाएको थिएँ
सायद, स्पर्शबिहिन भएर होला
थामिरहन सकिन
तिम्रा हातहरू मैँले
पन्छीझैँ हावासँगै उडेर
तिमी क्षितिजमा बिलीन हुँदा पनि
टिलपिल आँसु बोकी टोहोलाइरहेका
यी नयनहरु
झिम्क्याउन सकिन मैँले
कैयौँ दिनपछि कोशौं टाढाको
बिरानो देशमा
तिम्रो अवतरणको खबर सुनेँ
तै पनि तिमीलाई भुल्न सकिन मैँले
माया प्रितिको त्याग बिर्सन सकिन मैँले
पीडादायक रातहरू बिताउन सकिन मैँले
फेरि सूर्य उदाएको कहिल्यै देखिन मैँले
इति
वि.सं.२०७४ चैत २ शुक्रवार ०९:०५ मा प्रकाशित






























