विनय धेरै बर्ष विदेश बसेर आएको थियो । रोगी देखिएको थियो । अब फेरि विदेश जान नसक्ने अवस्थामा थियो । त्यसैले बाबु आमा उसको तुरुन्त बिहे गरिदिन चाहन्थे ।
रोगी र कमजोर भएकाले उसलाई कसैले पनि छोरी दिएका थिएनन् । आफूलाई साथ दिन सक्ने गरिवकै छोरी भए पनि बिहे गर्न सक्ने उसको आँट थियो । बाबु आमाको पनि हेर विचार होस् भन्ने चाहाना पनि थियो ।
गरिव भएकाले सविनाका बाबु आमाले छोरी दिने बिचार गरे । किन भने विनय जीउडाल परेको, लक्का जवान, चिटिक्क परेको देखिन्थ्यो । बिदेश गएको पैसा कमाएको केटा पाउँदा सन्तुष्ट भएर नै बिहे गरिदिए ।
उसको कमाई राम्रै थियो । अलिकति जोरजाम पनि गरेकै थियो ।
बिहे पछि सबिनाले थाहा पाई कि विनय निकै रोगी छ ।
बाबु आमाले सविनालाई सम्झाए । हेर छोरी आफ्नो–आफ्नो कर्म । आँगन पोलेर दिएकी छोरी होस् ।
सविनाले विनयलाई डाक्टरकोमा पुर्याई । डाक्टरले भरतपुरको क्यान्सर अस्पताल रेफर गरिदियो । उपचारको क्रममा सविनालाई थाह भयो कि विनयलाई ब्लड क्यान्सर भएको छ । सबिनाले विनयलाई रुँदै भनी ‘तपाँईलाई ब्लड क्यान्सर भएको रहेछ ।’ विनयले जवाफ दियो, ‘हो मलाई पहिलानै थाह थियो ।’
अनि थाह भइभइ किन मलाई बिहे गर्नु भएको ? सबिनाले सोधी ।
ऊ बोलेन । सबिना सरासर माइत पुगी र आमाबाबुलाई भनी मैले घर छाडेर आएँ । बाबुआमाले सबिनालाई सम्झाए हेर छोरी आफ्नो–आफ्नो कर्म । आँगन पोलेर दिएकी छोरी होस् । सबिनाले भनी, ‘मैले घर छोडेको मात्र होइन आमा, डाक्टरकै रोहबरमा क्यान्सर अस्पतालमानै डिभोर्स पनि गरेर आएकी हूँ । उनीहरुले आफ्नो गल्ती स्वीका गरेका छन् ।
आमाबुवा दुबै एकै पल्ट, एकै आवाजमा कराए “राम राम के यस्तो सुन्नु पर्यो बुढेशकालमा ।
किन यस्तो निर्णय गरिस् तैले सबिना ?
सबिनाले भनी ‘तपाँईहरुलाई पछुतो हुनुपर्ने हो । नजाची नबुझी गोरु बेचे झैं छोरी पञ्छाउनु भयो । ल ! हेर्नुहोस् कारण…।
यो के कागज हो सबिना ?
बाबुआमाले सोधे ।
सबिनाले उत्तर दिई यो विनयको रिपोर्ट हो ।उसलाई ब्लड क्यान्सर मात्र हैन एड्स पनि लागेको रहेछ ।
वि.सं.२०७६ असोज १८ शनिवार १०:२१ मा प्रकाशित






























