पल्लाघरे मुख्यैनी बजैको घरमा दशैंको निक्कै चहलपहल छ । खसी ढालेको छ । भोज लागेको छ । टीका लाउनेको लस्कर छ ।
संगैको ठुलेको झुपडी सुनसान छ । न चुल्हो जलेको छ । न त निधारमा टीका जमरा छ । छोरा डिलमा बसेर मुख्यैनी बजैको घरको रमिता हेर्दै बसेको देख्छ । झए कान्छा आईज बोलाउंछ । छोरा दगुर्दै आई पुग्छ सोध्छ, बा, मुख्यैनी बजै कहाँ आज के को भोज । ठुलेले न्यास्रो अनुहार लाएर भन्छ दशैंको भोज ।
बा, दशैं भनेको के हो ? कान्छाले बुवासंग सोध्छ । चुप मुकदर्शक छ । ठुले केही बोल्न सकिराछैन । छोराको कुरा सुनेर आँखा रसाएर आएको छ । निकै भो उस्ले दशैं नमनाएको ।
हरेक पल्ट सोंच्छ यस पाली यस्तै भो । अर्को साल मनाउने । नियती सधैं उस्तै भई दिन्छ । उस्ले सोंचेको कहिले पूरा भएन । बा रोएको देखेर कान्छाले भन्छ बा, अब कहिले दशैं के हो ? भनि सोध्दिन । ठुलेले रुँदै छोरालाई अंगालो मार्छ ।
वि.सं.२०७६ असोज १८ शनिवार १०:२५ मा प्रकाशित






























