
कुवेतमा २० बर्षदेखि सम्पर्कबिहिन भएकी एक महिलाको परिवारले उनको खोजी गरेको छ ।
ती महिलाका परिवारले जस्तोसुकै अवस्थामा भएपनि उनको बारेमा थाहा पाउन पाए हुने थियो भन्ने चाहना व्यक्त गरेका कारण सामाजिक सञ्जालमार्फत खोजिका लागि प्रयास गरिएको कुवेतबाट सामाजिक अभियन्ता रुपेन हमालले बताए ।
खोजी कार्यको लागि घर परिवार लगायत माइतीले नेपाली राजदूताबास कुवेत, कुवेतका सम्पुर्ण संघसस्था लगायत कुवेतमा कार्यरत सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनिहरुसँग आग्रह गरिएको छ ।
सामाजिक अभियन्ता हमालले सामाजिक सञ्जालमा राखेको जानकारीमा ती महिलाको नाम भवानी तिमलसिना र घर काठमाडौँको थली डाची भएको बताइएको छ । उनको श्रीमानको नाम सानो भाइ तिमलसिना हो भने उनका दुई छोरीहरु छन् ।
चितवन माइती भएकी उनका भाई गोविन्द खनालले दिदी २०५५ साल असारमा भारत मुम्बइ हुँदै कुबेत पुगेको र कुवेत पुगेपश्चात एकपटक पत्रचार गरेको र एकपटक क्यासेटमा भ्वाइस रेकर्ड पठाएको बताए । त्यसपछि सम्पर्कबिहिन भएकी आफ्नी दिदीको बारेमा केही जानकारी पाउन नसकेको बताएको पनि रुपेनले उल्लेख गरेका छन् ।
उनलाई देख्ने वा भेट्ने जोकोहीले नेपाली राजदुताबास कुवेतमा खवर गरिदिनु हुन आग्रह गर्दै उनले नेपालको लागि चितवनका अशोक खनाललाई मोबाइल 9862547945 मा सम्पर्क गर्न सकिने बताएका छन् ।
त्यस्तै रुकु खड्का र फुलसानी तामाङ पनि ५ बर्ष देखि सम्पर्कबिहिन भएको र उनीहरुको घरपरिवारले खोजी गरिरहेको पनि रुपेनले बताए ।
हेलम्बु गाँउ पालिका इचोक – ६ सिन्धुपाल्चोक स्थायी घर भै रोजगारीको सिलसिलामा बिगत १० बर्ष देखि कुवेतीको घरमा काम गर्दै आएकी रुकु खड्का र फुलसानी तामाङ बिगत ५ बर्ष देखि घरपरिवार, साथी संगीनी लगायत कोहिसंग पनी अहिले सम्म सम्पर्कमा नआएको बताइएको छ ।
रुपेनका अनुसार उनीहरु १० वर्ष बसेको घर र दलालको पत्ता लागेकोे छ । अहिले दूतावास व्यस्त भएका कारण घरवालासँग कुरा गर्न केही दिन कुर्नुपर्न भएको जानकारी दिँदै त्यसभन्दा बढी जानकारी नभएको पनि उनले बताए ।