
‘अहिल्यै छोरोलाई ल्यायो भने यहाँ एडजस्ट हुनै गाह्रो पर्छ । अहिले तिमी मात्र आउने हो । छोरोलाई त्यहीं बाबा आमासँग राख्ने हो ।’ महेशले अमेरिकाबाट शान्तालाई फोनमा भनेको थियो ।
‘हैन कस्तो अचम्मको कुरा गर्नुहुन्छ हजुरले ! जम्मा पाँच महीनाको छोरो छोडेर म कसरी आँऊ ?’ शान्ताले भनेकी थिई ।
‘तिमीले धेरै जिद्दी नगर । तिमी र म दुबै जनाले काम गर्ने हो यहाँ । छोरोलाई अहिले नै ल्यायो भने हेरचाह कसले गर्छ ? फेरि हामीले कमाउने छोरोकै लागि त हो नि ।’ महेशले सम्झायो ।
शान्ताले सोंची, ‘श्रीमानले ठीकै भनेका हुन क्यारे ! पाँच वर्षपछि त आएर उतै लगि हाल्छौं ।’
उसले त्यो दुधे बालक सासु ससुरोको जिम्मा लगाएर अमेरिका उडी । यता हजुरबा हजुरआमाले नातिलाई बेसरी माया गरेर हुर्काउँदै गए । बाउ आमाको अभाव हुन दिएनन् । छोरा बुहारीले कहिलेकाहीँ भिडियो कलमा नातिसँग बोल्न खोज्थे तर ऊ मान्दैनथ्यो ।
पाँच वर्षपछि महेश र शान्ता छोरो लैजान भन्दै एक महिनाको बिदामा नेपाल आए ।
घर पुग्ने बित्तिकै खुशी हुँदै छोरालाई बोलाए, ‘ए बाबू ! बाबू !! यता आऊ त ।’
छोरोले ‘नाई’ भन्दै हजुरआमाको काखमा गएर लुक्यो ।
उनीहरूले मिठाई र खेलौनाहरू दिएर फकाउन खोजे तर ऊ मान्दै मानेन् । शुरुशुरुमा नौलो मानेर होला, बिस्तारै मान्ला नि भनेर चित्त बुझाए । छोरो निदाएको बेला उनीहरूले ल्याएर आफूहरू सँगै सुताउँथे तर जब ऊ बिउँझन्थ्यो, रोएर घरै उचाल्थ्यो । बाउ आमाको पंजाबाट फुत्केर हजुरबा हजुरआमा सुतेको ठाँउमा गएर सुत्थ्यो ।
महेश र शान्ताको पनि अमेरिका फर्कने दिन आयो । छोरोलाई पनि आफूहरू सँगै लैजान खोजे ।
छोरोले हजुरबाको पाखुरो समातेर रुँदै भन्यो, ‘म हजुरहरू सँगै बस्छु । ती बिरानो मान्छेहरू सँग जान्न है, हजुरबा ! मलाई तिनीहरू सँग नपठाउनुहोस् है !’
महेश र शान्ता पनि भाव विव्हल भए। बोकेको झोला फ्यात्त भूँईमा फ्याँक्दै भने, ‘आफ्नै सन्तान बिरानो हुन्छ भने किन जाने विदेश ? भो अब नजाने ।’
वि.सं.२०७७ साउन ३१ शनिवार १०:१६ मा प्रकाशित






























