१
गाईजात्रालाई नेपाल भाषामा ‘सापारु’ भनिन्छ,
‘सा’को अर्थ ‘गाई’ र ‘पारु’ भन्दा ‘प्रतिपदा’ बुझिन्छ ।
२
नेपालको राष्ट्रिय सांस्कृतिक सुन्दर एउटा पर्व,
नेवारी समुदायमा प्रचलित सिङ्गो देशको गर्व ।
३
भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म मनाउँछन्,
सहर परिक्रमा गर्दैगर्दै हाँस्यरसमा नाँच्छन्,गाउँछन् ।
४
मध्ययुगीन राजा प्रताप मल्लले चलन चलाए,
पुत्र शोकमा परेकी आफ्नी रानीलाई खुशी बनाए ।
५
वर्षदिनभित्रमा दिवङ्गत पितृहरूको सम्मान,
मुक्तिका लागि गाईजात्रा मनाउने लौकिक विधान ।
६
सम्भव भएसम्म गाई निकाल्छन् नभए बालबालिका,
सिँगारपटार गरी हिँड्छन् बनाएझैँ समयतालिका ।
७
मनोरन्जन मान्दै अचेल झुम्छन्,हेर्छन् सबै झाँकी,
नेवार बस्ती भएको ठाउँमा नमान्ने छैनन् बाँकी ।
८
स्थानीय बाजा,सांस्कृतिक नाँचसँगै नेवारी खानपान,
केटाकेटी भव्य रम्छन्,रमाउँछन् बुढाबुढी के जवान ?
९
राजनीतिमा भद्रगोल हाँस्यकलाकारको निशाना,
प्रहार गर्छन् कविताबाट कोही चाहिँ गाउँदै गाना ।
१०
विकृति र विसङ्गति व्यङ्ग्य गर्ने यो हो एउटा मौका,
सज्जन वर्ग कर्तव्य ठान्छन् बन्न दुःख ओसार्ने नौका ।
गाईजात्रा विषयक
वि.सं.२०७८ भदौ ५ शनिवार ०७:२८ मा प्रकाशित






























