गोरुलाई दपेट्ने पनि स्वयं गोरु नै भएपछि
छेपारालाई लखेट्ने आफैँ छेपारो भएपछि
चिन्नुपर्नेले पनि कसलाई के–के भनेर चिन्नु ?
सबै हारालुछ गर्दै भेडीगोठमै समाहित भएपछि !
२
कुनैदिन यस्तो थियोे, म तिमीलाई देखेर मक्खपर्थें
तिमी रङ्गीन सपना देखाउँथ्यौ, म त्यसैमा ढुक्कपर्थें
दहेजको प्रस्ताव राखेर सक्कली रूप देखायौ आज
पहिल्यै चिन्न सकेकोभए त्यहीबेला ’थुक्क’ गर्थेँ ।
३
गीतार रेट्नेको हूलमा मादल ठोक्ने गाँडो लाग्छ
नयाँ भाँडो आएपछि पुरानो भाँडो ठाँडो लाग्छ
सामाजिक सञ्जालभरि प्रेमीहरूको भीड देख्दा
स्वास्नीलाई लोग्ने र लोग्नेलाई स्वास्नी घाँडो लाग्छ ।
४
अब पनि कसैले कालोले छोपिएरै तिम्रो सामु पर्नु ?
अब पनि कसैले तिम्रासामु उभिएरै जीहजुरी गर्नु ?
दुनियाँले तिमीलाई ‘खानैका भकारी’ भनेर चिनेपछि
अब पनि कसैले तिमीलाई ‘श्रीमान्’ भनेरै आदर गर्नु ?
५
एउटा खान बसेको हुन्छ भागमै हराएर
टुलुटुलु हेर्दै हुन्छ अर्को हृदय नै जलाएर
आपसमा बाँडचुँड गरेर नखाने यी अंशियार
अब आफैँ निख्रने भए आपसी डाहले गलाएर ।
वि.सं.२०७८ भदौ ५ शनिवार ०७:३५ मा प्रकाशित






























