तिमी छैनौ तिमीले नै सताएको कहानी छ ।
तिमी छैनौ तिमीले मन दुखाएको जवानी छ ।
शरदको पुर्णिमा देख्दा उज्यालो चाँदनी सम्झे,
तिमी छैनौ तिमीले सुमसुम्याएको सिरानी छ ।
छिचोल्दै रातको घुम्टो उषाले छर्कदा लाली,
तिमी छैनौ तिमी जस्तै उदाएको बिहानी छ ।
कलेजीमा त्यसै चस–चस गरी दुख्ने व्यथा बढ्दा,
तिमी छैनौ तिमीले खत लगाएको निशानी छ ।
सँगै बाँच्ने सँगै मर्ने भनेको सम्झना आयो,
तिमी छैनौ तिमीले घर जलाएको खरानी छ ।
बहर: हजज मुसम्मन सालिम
वि.सं.२०७८ भदौ ५ शनिवार ०७:३९ मा प्रकाशित






























