
निम्बतरु, अर्घाखाँची
लागेको मात्र हो
मेरो कविता भूपिले पढुन्
टैंगोरले पढिदिएहुन्थ्यो
भिक्टर ह्युगोले पढुन्
लाग्ने मात्र यस्तो हो
तर कविता
जस्को बुद्विमा आगो लागेको छ त्यल्ले पढ्नुपर्छ
जस्को साथमा अलिअलि कोइला छ
सडक छेउमा बुटपालिस लाउदै गर्नेले पढेन भने
कालीमाटीमा तरकारी बेच्नेले पढेन भने
दिनभरि खेत जोत्ने हलीले पढेन भने
कुल्लीले पढेन भने
बगरभरि गिट्टी कुट्नेले पढेन भने
पँजाबमा कोठीभित्र काम गर्नेले पढेनभने
सिन्कीको झोलले पढेन भने
मलाई मर्नु हुनेछ
लाग्छ सुनिदिउन कविता शेलीले
लाग्छ कविता सुनिदिउन सिद्विचरणले
तर कविता
सुनुन्
जस्को मनमा बिस्फोटक पदार्थ छैन त्यल्ले
बार्दलीबाट भुईँ छोवाएर साडी सुकाउनेले सुनेर के अर्थ राख्छ
मञ्चमा आसिन आकाशले सुनेर के अर्थ राख्छ
कविता
सुनेर के अर्थ हुन्छ
घामको पाइला पच्छाउन नसक्नेले ।