भूपाल अधिकारी, बिराटनगर
बताऊ बदन तिम्रा भिजाएर के गर्ने
यो बर्षातमा पलपल नुहाएर के गर्ने
झनै बाल्यौ पानी भित्र आगो तिमीले नै
जली आफु हर चिज जलाएर के गर्ने
सदा बालुवाको जल सरी नै तिमी बन्दा
तिमीलाइ मुटुभित्रै बसाएर के गर्ने
समयमै गरे पक्कै हुने गर्छ राम्रो काम
बहर छैन बूढो गोरू दाएर के गर्ने
नसक्ने भएछौ अंग भरि डस्न त्यसरी लौ
तिनै सर्प झैँ जिब्रो निकालेर के गर्ने
परे काम बेलैमा त पडकन्न कहिले नी
बिना अर्थमा बन्दुक समाएर के गर्ने
नचाऊ सबैलाई मदारी बनेछौ अब
टुँडीखेलमा बाँदर नचाएर के गर्ने
बहर : तबील मुसम्मन सालीम
अर्कान : १२२ १२२२ १२२ १२२२
वि.सं.२०८० असोज २७ शनिवार ०९:०६ मा प्रकाशित






























