किशोर कोइराला, इनरुवा, सुनसरी
प्यास लाग्दै छ यहाँ आज अधर के होला ?
छैन खोला न त पानी छ जहर के होला ?
मस्त मदहोस नयनको छ अनौठो आदत,
पुग्छ आकाश सधैँ गर्छ सफर के होला ?
उड्छ चङ्गा छुन आकाश भनी जल्नेले,
तोड्छ धागो र कठै ! भन्छ कसर के होला ?
एक्लिएको छु भनी डुब्दछ प्याला रोज्दै,
प्रेमको अर्थ नयाँ खोज्छ नजर के होला ?
प्रेम अनुराग छ यौवन छ तिमी छौ साथी,
रातमा प्यार छचल्केर बगर के होला ?
बहर : रमल मुसम्मन मख्बुज मक्तुव ’ख’
अर्कान : २१२२ – ११२२ – ११२२ – २२
वि.सं.२०८० माघ ६ शनिवार ०७:४२ मा प्रकाशित






























