दीनानाथ पोख्रेल, सुम्बेक, इलाम
सारा फाँट खुली पहेँलपुर छन् सङ्कष्ट बिर्साउँछन् ।
चोखा कर्म चुनेर बढ्नुछ भनी यो आरती गाउँछन् ।।
हाँस्छन् मानव चेत सौख्य बटुली आफैँ बहाडी बनी ।
डुल्छन् भाव अनेक दिव्य दिलमा शोभा शरद् मोहनी ।।०१।।
उम्दा चाड दसैँ तिहार छठले छर्छन् उजेलो पर ।
चिन्ता ताप तनाव दुर्गुण सबै फ्याँकेर रम्छन् घर ।।
देवी दुर्गति नाशिनी भगवती पुज्दै पुजारी बनी ।
डुल्छन् भाव अनेक दिव्य दिलमा शोभा शरद् मोहनी ।।०२।।
प्रातः काल हुँदा छ शीत मधुरो आनन्द बर्साउँछ ।
मानेपात बटुल्छ दृष्टि सबको मोती सरी छाउँछ ।।
भिन्नै दृश्य छ चेतका हरकुना उठ्छन् सुकर्मी बनी ।
डुल्छन् भाव अनेक दिव्य दिलमा शोभा शरद् मोहनी ।।०३।।
टल्के दिव्य ललाटमा मिलनका झन् सप्तरङ्गी टिका ।
हेरोस् नित्य खुलेर यो सुखदमा ती सूर्य लाग्छन् फिका ।।
उम्दा छन् सब चालढाल जनका को सक्छ जम्मै भनी ।
डुल्छन् भाव अनेक दिव्य दिलमा शोभा शरद् मोहनी ।।०४।।
राता छन् सबका निधार रँगले छर्दो छ सन्मङ्गल ।
भाग्छन् दर्द विकार दुष्ट दिलका सन्तापका जङ्गल ।।
पाई आदिको उठ्दछन् दिल उँभो अग्लेर चङ्गा बनी ।
डुल्छन् भाव अनेक दिव्य दिलमा शोभा शरद् मोहनी ।।०५।।
झर्दा शीत तुषार झन् मनुजका दुख्छन् चिसाले मन ।
फुर्ती भाग्दछ देहको पर हुँदै बढ्दै बियाँलोपन ।।
भिन्नै वायु बहन्छ भिन्न गतिमा को सक्छ जम्मै भनी ।
डुल्छन् भाव अनेक दिव्य दिलमा शोभा शरद् मोहनी ।।०६।।
फुल्छन् फूल अनेक क्या मखमली ! सुक्दैन भन्छन् सब ।
डुल्छन् सुन्दर दृश्य भाव मनमा उल्लास बाँड्दो भव ।।
जम्मै उल्झन टाढिए भुवनका उम्दा हुँदा जीवनी ।
डुल्छन् भाव अनेक दिव्य दिलमा शोभा शरद् मोहनी ।।०७।।
पुज्छन् भाष्कर हर्षले मनुजले सङ्लो छ आराधना ।
दैवी चिन्मय चेत बोक्दछ खुली गर्दै स्वयम् साधना ।।
हट्छन् चञ्चलता विकार मनका उत्कृष्ट आशा बनी ।
डुल्छन् भाव अनेक दिव्य दिलमा शोभा शरद् मोहनी ।।०८।।
समस्या: डुल्छन् भाव अनेक दिव्य दिलमा शोभा शरद् मोहनी ।।
छन्द : शार्दूलविक्रीडित
विश्राम : बाह्र र पादान्तमा
गण : म स ज स त त गु
सङ्केत :SSS ISS ISI IIS SSI SSI S
वि.सं.२०८० माघ १३ शनिवार ०७:२० मा प्रकाशित






























