कल्पना भट्टराई, टोखा, काठमाडौं
मडारिएर व्योममा घना घना छ बादल ।
किसान छन् खुसी खुसी झरेर निर्झरी जल ।
मिलेर खेतका गरा छ रोप्नु याम छोप्दछु ।
असार मास धानका सँगै म काव्य रोप्दछु ।१।
जलाम्य मेदिनी भईन् उमार्न अन्न तत्पर ।
नदी समान झार्दछन् किसान स्वेद तर्तर ।
बनी अदम्य साहसी किसान कर्म रोज्दछु ।
असार मास धानका सँगै म काव्य रोप्दछु ।२।
मिलाउँनै छ अन्नको जुगाड वर्ष वर्षको ।
किसान निम्ति बन्छ यो विशिष्ट पर्व हर्षको
असार गीत गाउँदै डुबी म अर्थ खोज्दछु ।
असार मास धानका सँगै म काव्य रोप्दछु ।३।
छरेर वीज अन्नको मुरी मुरी फलाउनु ।
यसै गरी गरी सधैँ छ जिन्दगी चलाउनु ।
कहाँ छ मूल्य मान्यता म भित्र भित्र सोच्दछु
असार मास धानका सँगै म काव्य रोप्दछु ।४।
फुटेर मूल कन्दरा पहाडका कुना गरा ।
परोपकार गर्नमा रमाउँछिन् वसुन्धरा ।
छ सारहीन भन्दछन् असार छक्क पर्दछु ।
असार मास धानका सँगै म काव्य रोप्दछु ।५।
स्व–रोजगारमा जुटौँ किसान भै सँधैभरि ।
असारमा नहोमिए कसार मिल्छ के गरी ?
धरा सुरम्य देखिईन् म विम्बमा समेट्दछु ।
असार मास धानका सँगै म काव्य रोप्दछु ।६।
छन्द : पञ्चचामर
गण : ज र ज र ज गु
सङ्केत : lSl SlS lSl SlS lSl S
वि.सं.२०८१ असार २२ शनिवार ०७:४१ मा प्रकाशित






























