साजन पौडेल (सञ्जय)
देवघाट –५, तनहुँ
१.
बात मीठो थियो
आनयास तिम्रो घातले
नमिठो चोट दियो ।
२.
तप्किन्छन् आँखाबाट शीतहरू
सताइरह्यो तिम्रो यादले
बन्द गर गीतहरू ।
३.
यस्तै रहेछन् रितहरू
झेल भयो जिन्दगीमा
भो! नलगाउने प्रीतहरू ।
४.
तिम्रा कुरा सदर
माफ गर प्रिया
म भएछु बदर ।
५.
देशभक्त देशमै शरणार्थी
बेरोजगारीले घाँटी थिच्यो
खाडी छाँटियो विद्यार्थी ।
६.
खेल्दैछन् रगतको होली
आफ्नै आमाको काखमा
भविष्य रहला भोलि ?
७.
चलिरहे यस्तो खेल
करोडौँ नेपालीको आँखामा
उर्लिन्छ आँसुको भेल ।
८.
म नदी बनूँ
जालझेल, झुट असमझदारी
एकमुष्ठ बगाउन सकूँ ।
९.
हिमालझैँ अग्लिन पाऊँ
त्यस्तो कुनै नहोस्
मैले नटेकेको ठाउँ ।
१०.
थाकेर चौतारीमा सुस्ताउँ
गरेर सबको भलो
म निस्फिक्री मुस्कुराउँ।
वि.सं.२०८२ वैशाख २७ शनिवार ०८:०७ मा प्रकाशित






























