मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
उसको कुरा सुनेर पञ्जिकाधिकारी चकित भए –
“हैन के भनेको? यस्तो पनि हुन्छ कहीँ?”
उसले शान्त स्वरमा जवाफ दियो –
“हो, म मेरो मृत्युदर्ता बदर गर्न आएको ।”
कोठाभित्र एकछिन मौनता छायो। कागजहरू पल्टिए, कम्प्युटर खोलियो ।
“मृत्यु कहिले भएको ?” अधिकारीले औपचारिक प्रश्न गरे।
“५ वर्षअघि ।” उसले भन्यो।
“अनि… आज किन?”
उसले झ्यालबाहिर हेर्दै भन्यो–
“आज समाजलाई छोरोको बाबुको प्रमाण दिनुपरेको छ ।”
मृत्युदर्ताको विवरण हेर्दै पञ्जिकाधिकारी रोकिए ।
“तर यहाँ त… मृत्युको कारण ‘भूकम्पबाट मृत्यु’ लेखिएको छ।”
उसले हल्का मुस्कान दियो–
“के भयो त ?” “हो, म त्यही दिन मरेको थिएँ तर शरीर बाँच्यो ।”
अधिकारीले केही नबोली फाराम अघि सारे ।
“ठीक छ, बदर गरिन्छ । यहाँ हस्ताक्षर गर्नुस् । तर…..”
उसले हस्ताक्षर गर्न लागेको हात रोक्यो र सोध्यो–
“के तर…”
“यदि बदर भयो भने, सरकारले दिएको राहत सबै फिर्ता गर्नुपर्छ नि ।” अधिकारीले भने ।
उसले कलम बन्द गर्दै भन्यो–
“त्यसो भए… होस् ।”
ढोका बन्द भयो। फाइलमा मृत्युदर्ता जस्ताको तस्तै रह्यो । उसलाई थाहा थियो– जिउँदो भएर बाँच्नुभन्दा मृत घोषित भएर बाँच्न सस्तो पथ्र्यो।
वि.सं.२०८२ पुस २६ शनिवार ०६:०६ मा प्रकाशित






























