लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट युद्ध थापा अध्यक्षमा चयन भएका छन्। अधिवेशनले आगामी कार्यकालका लागि थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा केशव भट्टराई र सचिवमा खगराज रेग्मी चयन भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएको संस्थाले जनाएको छ।
अधिवेशन तथा वार्षिकोत्सव समारोहमा वक्ताहरूले लक्जम्बर्गमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन, आपतविपत्का बेला सहयोग पुर्याउन तथा नेपाली भाषा, कला, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण एवं प्रवर्द्धनमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
कार्यक्रममा सहभागीहरूले नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले संस्थालाई अझ सक्रिय, एकताबद्ध र समुदायमुखी बनाउने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष युद्ध थापाले संस्थालाई सबै नेपालीको साझा थलोका रूपमा थप सशक्त र प्रभावकारी बनाउँदै सामाजिक सेवा, समुदायको एकता तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्था लक्जम्बर्गमा सक्रिय नेपाली प्रवासीहरूको एक प्रमुख सामाजिक संस्था हो। यसले विगत १३ वर्षभन्दा लामो समयदेखि क्रियाशील यस गैर(नाफामूलक संस्थाले युरोपेली मुलुक लक्जम्बर्गमा रहेका नेपालीहरूलाई एकजुट बनाउन र विभिन्न कल्याणकारी कार्यहरू गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
वि.सं.२०८३ साउन ७ बिहीवार १४:४० मा प्रकाशित






























