
ओइ मास्टर !
तँ मास्टर होस्,
मास्टरकै हैसियतमा बस् ।
तैंले खान पाइन नभन्
हामीलाई धेरै भएछ भने खालास्
तेरो मुख खानको लागि बनेको होइन,
त्यो त घोक्रो सुक्नेगरी पढाउनको लागि बनेको हो,
खानको लागि त हाम्रा मुखहरु आँक्क् परिरहेछन्
तैंले लाउन पाइन नभन्
हामीलाई कपडा धेरै भएछ भने लाउलास्
तेरा पाखुराहरु ढाकिनको लागि बनेका होइनन्
ती त जोतिनको लागि बनेका हुन्,
मुठ्ठी पारेर टाउकामाथि उठ्नको लागि त
हाम्रा पाखुराहरु तयारी अवस्थामा छन् ।
ओई मास्टर,
तैंले आफ्नो जीउको चिन्ता नगर,
समाजमा फैलिएको संक्रमण तँलाई लाग्दै लाग्दैन,
लागिहालेछ भने पनि चिन्ता लिनु पर्दैन
तेरो मास्टरीले जीवनभर जोगाउन नसक्ने
ठ्याक्कै एउटा लाखको बिटो तेरो हात पर्नेछ ।
नाथे कोरोना के हो र ?
मैले निषेध गरिदिएको छु स्कुलहरुमा,
नाथे संक्रमण के हो र ?
मैले रोकिदिएको छु बाटोहरुमा !
काठमाडौंलाई रोग लागे पो चिन्ता लिने,
किनकी त्यहाँ महामहिमहरु बस्छन्
कर्णालीका कुनाहरुमा मर्ने
नाथे मास्टरको चिन्ता लिएर हुन्छ ?
हामीले हाम्रो तलब हामी नै निर्धारण गर्छौं
त्यसैले हामीलाई कसैले हल्लाउन सक्दैन
तिमीहरु मागेर खानेहरु हौ,
खान मन भए ज्यानको बाजि लगाओ
सरकारी मास्टर होस् भने
क्वारेन्टाइन बनाईएका स्कुलमा हाजिर गर्न पस्,
ए अझ तँ त बोर्डिङको पो मास्टर ?
त्यसोभए चुपचाप मुखमा चेन लगाएर बस् ।
ओइ मास्टर,
तेरो र मेरो हैसियत नै मिल्दैन
यो अनुरोध होइन आदेश हो,
आदेश दिने र लिने बिच सवाल जवाफ हुँदैन
त्यसैले तँ चुपचाप तेरो काममा फर्किहाल
नत्र‘‘ !
वि.सं.२०७७ साउन ३१ शनिवार ०९:४४ मा प्रकाशित






























