
मृत्युलाई नजिकबाट,
चुम्न मनलाग्यो
कालो छ कि गोरो,
नियालेर हेर्न मन लाग्यो
उसको सुन्दरतालाई,
आँखाभित्र राखेर
त्यसैमा हराउन मन लाग्यो ।
लाग्छ मृत्यु स्वर्गिय आनन्द हो
किन कि मृत्युपछि
कोही फर्केर आउँदैनन्
न उनीहरूको कुनै गुनासो सुनिन्छ
जाँदा पनि कसैलाई नसोधी जाने
रुनेहरुले,
आँसुको भेल बगाउँदा पनि
उसले एकथोपा आँसु चुहाउँदैन
दनदनी बलेको आगोको चितामा,
आफूलाई चुपचाप
समर्पण गरिदिन्छ
न उसलाई आगोले पोलेको आभाष हुन्छ
न रुनेहरु प्रति कुनै प्रतिक्रिया
अनौठो मौनतासंगै
आगोसंगै जलेर खरानी बनिदिन्छ
त्यसैले मृत्युको यो सुन्दरतालाई,
नजिकबाट
अंकमाल गर्न मन लाग्यो ।
यो अराजक र कोलाहल भन्दा,
माया,तृष्णा र दुःखभन्दा
खुट्टा तानातान र हानाहान भन्दा,
त्यो मृत्यु संसार स्वर्ग होला
त्यसैले त कोही फर्केर आउँदैन
जाने जति सबै
रमाएका छन् उतै
त्यसैले उनीहरू बस्ने संसारमा
बस्ती सर्न मन लाग्यो ।
वि.सं.२०७७ साउन ३१ शनिवार ०९:४६ मा प्रकाशित






























