
तारा हेर्न भनी उँभो गगनमा, आँखा पुँगे के गरुँ ।
हाँस्दै भन्छ हिमालले अब कुनैं, रोज्दै नरोजे अरु ।।
मान्यौ यो मनले प्रफुल्ल म भएँ, रोज्दैन आए जति,
क्या राम्री अब देखियौं अझ तिमी, थोरै लजाएपछि ।।१।।
लेख्या जुर्छ अरे भने भनिरहुन्, विश्वास लाग्दैन पो ।
आफैँमा नपुगी परौँ म भर के, लाग्थ्यो दिवा स्वप्न यो ।।
त्यो स्वप्न बिपना भई बदलिने, संकेत गथ्र्यो कति ।
क्या राम्री अब देखियौं अझ तिमी थोरै लजाएपछि ।।२।।
देख्नासाथ ममा भयो खुलदुली, भेटौँ म खै के गरी ।
हेर्थे लोचनले उसै बखतमा, मौका मिले बेसरी ।।
हेराहेर हुँदा अचानक दुवै, आँखा जुधे यी कति ।
क्या राम्री अब देखियौं अझ तिमी थोरै लजाएपछि ।।३।।
त्यो मोबाइलमा बजाउन कहाँ, सक्थे म घण्टी अनि ।
तिम्रो नम्बर छैन है मसँगता, ऐले दिए हुन्छ नि ।।
मान्यौ लाज भने यहाँ निकटमा, डाक्दा हुने भो खति ।
क्या राम्री अब देखियौं अझ तिमी थोरै लजाएपछि ।।४।।
बाँच्ने और बचाउने छ जहिले, यो प्रेमलाई कसे
यौटा गीत म गाउनेछु नजिकै, सुन्ने तिमी याँ बसे ।।
सुन्ने जाँगर नै गरी बसन हौ, हेर्दै म गाउँ अति
क्या राम्री अब देखियौं अझ तिमी थोरै लजाएपछि ।।५।।
छन्दः शार्दूल विक्रिीडित
मेचीनगर, न.पा,
हाल–टोखा, गंगबु, काठमाडौं
वि.सं.२०७७ साउन ३१ शनिवार १०:०६ मा प्रकाशित






























